Categories
Uncategorized

जथाभाबी खनियको पोखरिले लियो ५ बाललबालिकाको ज्यान । पुरै गाउँ शोकमा…

धनुषाको मुखियापट्टी मुसहरनीया गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुरमा बाख्रा चराउन गएका ५ जना बालिकाको पोखरीमा डुबेर मृत्यु भएपछि गाउँ शोकमा डुबेका छन् । कुनै मापदण्डबिना पोखरी खन्दा यस्तो घटना निम्तिएको गाउँलेहरु बताउँछन् । प्रहरीका अनुसार माछापालनका लागि खनिएको नयाँ पोखरीमा डुबेर उनीहरुको मृत्यु भएको हो ।

शुक्रबार बिहान बालिकाहरू घरबाट बाख्रा चराउनका लागि चौरतर्फ निस्किएका थिए । सोही क्रममा खेतमा पानी जमेको देखेपछि उनीहरु पौडी खेल्न पुगेका थिए । थोरै पानी रहेको भन्दै पोखरीमा पौडी खेल्ने क्रममा उनीहरुको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी नायब उपरिक्षक मकेन्द्र कुमार मिश्रले भने– ‘बालिकाहरू बाख्रा चराउन गएको बेला पानी जमेको देखेपछि पौडी खेल्ने क्रममा डुबेका रहेछन् ।’ धनुषा प्रहरीले घटनाका बारेमा थप अनुसन्धान गरिरहको जनाएको छ। मिश्रले उक्त पोखरी स्थानीय हुलास यादवको रहेको बताए ।

स्थानीयका अनुसार बिहान ७ जना बालिका बाख्रा चराउन भनेर घरबाट निस्केका थिए । खेतमै खनिएको पोखरीमा ५ जना नुहाउन पसे । २ जना भने ननुहाउने भन्दै पोखरीमा पसेनन् । पोखरीमा छिरेकाे केही बेरमा नै पाँचै जना डुब्न थालेपछि दुई जना बालिका हारगुहार गर्दै गाउँमा पुगेर घटनाबारे जानकारी गराएको स्थानीय अरुण कुमार राउतले जानकारी दिए ।

गाउँलेहरु तत्कालै घटनास्थलमा पुगे पनि त्यतिबेलासम्म ढिला भइसकेको थियो । पाँचै जना बालिकाको शव पानीमा तैरिरहेको थियो । त्यसपछि स्थानीयहरुले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीले घटनास्थल पुगेर मुचुल्का गरी शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको प्रहरी नायब उपरिक्षक मिश्रले बताए । 

स्थानीय अरुणकुमार राउतले प्रश्न गरे, ‘झट्ट हेर्दा खेतजस्तै देखिन्छ । यसरी अव्यवस्थित तरिकाबाट पोखरी खन्दा पाँच जना अबोध बालिकाको इहलीला समाप्त भएको छ । यसको दोषी को ? मापदण्ड बिना पोखरी खन्न किन दिइयो ? यसैगरी बेटी बचाउनुहुन्छ सरकार ?’

मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्दाकुमारी भगत, राजगिर पूर्वेकी १३ वर्षीय छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी नातिनी १२ वर्षीय चादँनी ठाकुर र उत्तम साह तेलीकी १२ वर्षीय छोरी ललिता साह तेली छन् ।

Categories
Uncategorized

आज नेपाल अस्ट्रेलिया सङ भिडदै

विश्वकप तथा एसियन कप छनोटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार (भोलि) बलियो टिम अस्ट्रेलियाको सामना गर्दै छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा हुने उक्त खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

यस खेलका लागि नेपाली टोली युद्धस्तरमा प्रशिक्षणमा जुटेको छ । बिहीबार खेलको पूर्वसन्ध्यामा नेपाली टोलीले दुवईस्थित अल नासर स्पोर्टिङ क्लबमा प्रशिक्षण गरेको छ । अन्तिम तथा निर्णायक खेल भएका कारण पनि टोलीले युद्धस्तरमा प्रशिक्षण गरेको हो ।

नेपालले विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको छ । तर नेपालको प्ले अफको माध्यमबाट एसियन कप छनोटको तेस्रो चरण पुग्ने सम्भावना भने बाँकी छ । समूह ‘बी’मा नेपाल चौथो स्थानमा छ । नेपालसँग ६ अङ्क छ ।

यस खेलअघि नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अस्ट्रेलियाविरुद्धको खेल महत्त्वपूर्ण भएको बताएका छन् । यस्तै राष्ट्रिय टोलीका खेल्न बाँकी रहेका युवा खेलाडीहरूले अस्ट्रेलियाविरुद्ध खेल्ने सम्भावना रहेको पनि बताए । ‘पक्कै पनि, यदि सबै कुरा राम्रो भएमा उनीहरूले पनि खेल्ने छन् । मलाई थाहा छ अस्ट्रेलियाविरुद्धको खेल कठिने हुनेछ तर उनीहरू खेल्नु महत्त्वपूर्ण छ’, उनले भने ।

‘आशा गरौँ कि अस्ट्रेलियाविरुद्धको खेल राम्रो हुनेछ । हाम्रो खेल्ने शैलीमा सुधार भएको छ र हामीले हाम्रा समर्थकलाई खुसी पार्न सकेका छौँ’, उनले थपे, ‘नयाँ खेल्ने शैलीको अहिले नतिजा आउन थालेको छ । तर छोटो समयमा केही पनि सजिलो हुँदैन । फुटबलमा नतिजा पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । हामीले भविष्यमा अझ राम्रो नतिजा दिन सक्ने छौँ ।’

इराकविरुद्धको खेलपछि कुवेत पुगेको नेपाली राष्ट्रिय टिम आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाली टिमः

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास

मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान

फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा

तस्विरहरु

नेपाली टिमका गोलरक्षक किरण चेम्जोङ ।
नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी (बीचमा) अन्य टिम मेम्मरसँग छलफल गर्दै ।
विश्वकप तथा एसियन कप छनोटको समूह चरणको खेलमा फरवार्ड भूमिका रहेका खेलाडी नवयुग श्रेष्ठ ।
गोलरक्षक किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की दुवईस्थित अल नासर स्पोर्टिङ क्लबमा प्रशिक्षणमा सहभागी हुँदै । सबै कालो लुगामा ।
Design a site like this with WordPress.com
Get started